गोरखा ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै समग्र रूपमा अनुसन्धान अघि बढेको बताए ।
‘समग्र रूपमा अनुसन्धानको प्रक्रिया अघि बढाउँदा जरैसम्म पुग्न निर्देशन दिएका छौँ, अनुसन्धानको आधारमा दोषी देखिएका सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने,‘ जरैसम्म पुग्छौं, यसको स्रोतसम्म पुग्छौं, प्रारम्भमा पुग्ने भनेको जसले ट्याक्सीमा लग्यो, जसले अर्को ठाउँमा पुर्यायो, जसले फेला पार्यो त्यसैलाई अनुसन्धान गर्ने न हो ।’
अहिलेको सत्ता समीकरण भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चलाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ढंगले व्यवस्थापन गरिने पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ ।















