यी प्रदेशमा हिमपातको सम्भवाना, हेर्नुहोस तीन दिनको मौसम अवस्था

केन्द्रभाग मिडिया

काठमाडौं ।

यतिबेला देशभर चिसो बढेको छ । आज देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ।

विभागको अनुसार आज सोमबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गर्दै तीन दिनसम्म प्रदेश १ र गण्डकीमा हिमपात हुनसक्ने जनाएको हो।

आज राति देशभरको मौसममा आंशिक बदली हुने बुलेटिनमा उल्लेख गरिएको छ। प्रदेश १ र गण्डकीमा भने दिउँसो र राति पनि हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार हिमपातको सम्भावना बुधबारसम्म रहे पनि मंगलबार दिउँसो पहाडी भू–भागमा बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ।

त्यस्तै बुधबार प्रदेश १, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक तथा सामान्य बदली हुने छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • २२ कार्तिक २०७८, सोमबार ०९:३९ प्रकाशित