पूर्वअर्थमन्त्री प्रकरण : छानबिन समितिमा मत बाझियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन लेखनमा मत बाझिएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको हो ।

 

स्रोतकाअनुसार मत बाझिएका कारण बुधबार लगातार ६ घन्टा समितिमा छलफल भए पनि प्रतिवेदनमा लेख्ने छानबिनको निष्कर्षबारे सहमति जुट्न सकेन । समितिमा रहेका सत्तारूढ दलका सांसदहरू अनधिकृत व्यक्तिको प्रवेशको कुनै तथ्य नभेटिएकाले त्यही निष्कर्षसहित प्रतिवेदन लेख्नुपर्ने पक्षमा छन् । तर, प्रमुख प्रतिपक्षी एमालेका सांसद सम्बन्धित निकायको असहयोग र प्राविधिक अस्पष्टताका कारण छानबिन अधुरो भएकाले सफाइ दिन नहुने पक्षमा छन् ।

समिति सचिव सुरेन्द्र अर्यालले बुधबार प्रतिवेदन कसरी लेख्ने, के(के राख्ने, सकेसम्म समान धारणा बनाउने भनेर व्यापक छलफल भएको बताए । तर, निष्कर्षबारे सहमति नजुटिसकेकाले साझा धारणा बनाउन सदस्यहरू छलफलमै रहेको उनको भनाइ छ ।

सचिव अर्यालले आज साढे १२ बजे पुनः बैठक बस्ने जानकारी दिए । समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला वि।क।, कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महतो, माओवादीबाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत, लोसपाबाट लक्ष्मणलाल कर्ण, एकीकृत समाजवादीकी सरलाकुमारी यादव र जसपाका सुरेन्द्रप्रसाद यादव रहेका छन् ।

  • १२ श्रावण २०७९, बिहीबार ०९:०९ प्रकाशित