पोखरा ।
पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता यही साउन १४ गतेसम्म जारी रहनेछ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले छ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । जुन पुरस्कार नेपालमा दोहारीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ ।
यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः चार लाख, दुई लाख र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमबाट ५५ लाख आम्दानी भई खर्च ३९ लाख ५० हजार कटाएर १५ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ । प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ ।
एक समूहमा महिला र पुरुष एक(एक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गर्ने कार्यक्रम संयोजक दाहालले बताए । लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको स्मरणमा उहाँको जन्मजयन्तीका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्या पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए ।