प्रधान सेनापति शर्मा अष्ट्रेलिया जाँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद् बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लाग्नुभएको हो ।

शर्माले हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमण गर्नुभएको थियो । उहाँले असार ४ देखि ८ गतेसम्म लेबनान, असार ८ देखि ९ गतेसम्म सिरिया र त्यसपछि अमेरिका भ्रमण गर्नुभएको थियो । उहाँ असार २० गते नेपाल फर्किनुभएको थियो ।

  • १ श्रावण २०७९, आईतवार १५:१९ प्रकाशित