कक्षा ८ सम्मका विद्यार्थीलाई खाजाका लागि बजेट दिइएन : शिक्षामन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि बजेट विनियोजन नगरेको बताएका हुन् ।

उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्थाको माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषा प्रयोग गरिएको बताए ।

उनले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटिहरू सच्याउन आवश्यक रहेको बताए ।

  • १२ असार २०७९, आईतवार १४:३१ प्रकाशित