तनहुँ ।
निकै चर्चामा आएको तनहुँको मानुङकोट र काहुँशिवपुर जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ ।
गण्डकी प्रदेश सरकारले दुई पालिका जोड्ने डाँडामा बुहप्रयोजनको झोलुङ्गे पुल बनाउने निर्णय गरेको हो । हिजो पारित भएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ ।
व्यास नगरपालिका–५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर जोड्नका लागि निर्माण गरिने पुलको सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।
केही वर्षअघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रम सुरु भएको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।
मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।