प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्धारा राजीनामा घोषणा

केन्द्रभाग मिडिया

विराटनगर ।

अल्पमतमा परेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्।

विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ। कामलाई महत्वपूर्ण रूपमा राखियो,’ प्रदेश सभामा बोल्दै आचार्यले भने, ‘आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ। म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।’

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गर्ने कार्यसूची थियो। प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो।

उनले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्नेछन्। राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय जाने पनि मुख्यमन्त्री आचार्यले बताए।

  • १५ कार्तिक २०७८, सोमबार १४:५४ प्रकाशित