एमाले पोखरा नगर अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेको पालिका महाधिवेशन जारी रहेको छ । पोखराका पाँच मध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने कतै पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा भने चयन हुन सकेन ।

नेकपा एमालेको पोखरा महानगर कमिटीको नेतृत्वका लागि हिजो ५ जनाले उम्मदेवारी दर्ता गरेका छन् ।

तेजनारायण अधिकारी, दिलीप न्यौपाने, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् । अधिकारी र पौडेल महानगर पूर्वअध्यक्ष हुन् । नेपाली महानगरमा वडा नम्बर ५ का वडाध्यक्ष छन् । त्रिपाठी अवकाशप्राप्त प्राध्यापक हुन् ।

उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ । जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी सचिवमा परेको छ ।

उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।

भौगोेलिक क्षेत्रका सदस्यमा मात्रै ४६ जनाको उम्मेदवारी परेको छ । समावेशी महिला उम्मेदवार १० जना छन् । दलित महिला सदस्यमा ९ जनाले उम्मेदवारी दिएका छन् । अपांग महिला सदस्यमा २ जनाको उम्मेदवारी परेको छ । खस आर्य महिला सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । खुला महिला सदस्यमा ३६ जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक महिला सदस्यमा २ र श्रमिक महिला सदस्यमा १ जनाको मात्रै उम्मेदवारी छ ।

दलिततर्फ ११ जना उम्मेदवार छन् । जनजातिमा १८, अपांगमा ३, खसआर्यमा १८ जना सदस्य उम्मेदवार छन् । खुलातर्फ भने ६२ जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक सदस्यमा ३ र श्रमिक सदस्यमा ३ जनाको उम्मेदवारी परेको छ ।

  • ११ कार्तिक २०७८, बिहीबार १३:१८ प्रकाशित