जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्छः अर्थमन्त्री बराल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताएका छन । पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन ।

पछिल्लो समयमा पर्यटकीय महत्व राख्ने स्थानहरुमा शहर बजारका केही टाठाबाठा एवं हुनेखाने व्यक्तिहरुले गाँउ गाँउका डाँडा पाखा खरिद गरी त्यसै बाजो राखी बैंकबाट ऋण असुली गर्दै आएको सन्दर्भमा मन्त्री बरालले स्थानीयको अनुकुलमा उक्त जग्गा उपभोग गर्न गराउन सुझाव दिदैँ पुनः बाँकी रहेको जग्गा बाहिर मानिसहरुलाई बिक्रि नगर्न आग्रह गरे ।

उनले भने,‘अब बाझो जग्गा राखेर गाउँमा उत्पादन बढाउन सकिदैन, भएको जग्गा अर्को व्यक्तिलाई बिक्रि गरेर गाँउको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिदैन, केही स्वर्ग जस्ता गाँउ हाल बस्ती हिबिन हुन पुगेका छन् ।’बाझो जग्गा राखेर बैंकबाटै एकले अर्कोलाई चर्को मुल्यमा जग्गा कारोवार गर्ने तर गाँउको उक्त जग्गामा पर्यटकीय गतिविधि नगर्ने उपर अब स्थानियले सोच्नुपर्ने समय आएको मन्त्री बरालको भनाई थियो ।

फेवाताल, हिमश्रृखला, पोखरा सहितको दृश्यावलोकनको निकै रमणिय स्थल सिम्ले,पात्ले क्षेत्रका स्थानियलाई तत्काल गाँउ नछाड्न आग्रह गर्दै मन्त्रीले उक्त क्षेत्रमा सामुहिक रुपमा व्यवसायीक कृषि खेति गर्न सुझाव दिए । सुत्केरी महिलालाई समेत उपचार गर्न घण्टौं लाग्ने र हाल एम्बुलेन्स सेवा समेत संचालन हुने अवस्था नभएकोमा उक्त क्षेत्रमा कम्तिमा एम्बुलेन्स सेवा संचालन हुने गरी बाटो स्तरोउन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले बताए ।

  • ९ कार्तिक २०७८, मंगलवार १६:३७ प्रकाशित