राजमार्ग मिचेर बनेका संरचना भत्काउन महानगले चलायो डोजर

केन्द्रभाग मिडिया

पोखरा ।
ठेक्का लागेको करिब २ वर्ष पछि पोखरा–मुग्लिन सडक विस्तार गर्न पोखरा महानगर भित्र सडकको क्षेत्राधिकार भित्र रहका संरचना भत्काउन थालिएको छ । पोखरा महानगरपालिकाले सोमबार पृथ्वीचोकदेखि डोजर लगाएर भत्काउन थालेका हो । महानगरले अहिले सडकको दायाँ–बायाँका अस्थायी संरचनामा डोजर लगाएको छ ।

आयोजनाले सडकको राइट अफ वे क्लियर गर्नुपर्ने भए पनि आफ्नो सिमाना भित्र पर्ने अवैध संरचना हटाउन महानगरले अग्रसरता लिएको हो ।

महानगरले भत्काउनका लागि सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयमा नभत्काउनेहरुका अवैध संरचनामा महानगरले आज डोजर चलाएको महानगरका प्रमुख धनराज आचार्यले बताए ।

महानगरमा सडकको ४६ मिटर मापदण्डा रहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम सुस्त गतिमा चलिरहेको छ । ८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक ४ लेन विस्तार थालिएको छ ।

जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको सडक आयोजनाको पश्चिम खण्ड निमित्त प्रमुख महेश ढकाल जानकारी दिए । उक्त संरचनाका १३० जना घरधनी रहेकोमा हालसम्म ८४ जनाले मुआब्जा बुझेका छन् । पश्चिम खण्डमा २ करोड ७० लाख रुपैयाँ मुआब्जा वितरण सकिएको आयोजनाले जनाएको छ । आयोजनाले ६ करोड ५४ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने छ ।

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत पोखरादेखि जामुनेसम्म ३८ किमी सडकको ठेक्का चिनिया कम्पनी एनहुई केयुयन हाइवे एण्ड ब्रिजले पाएको छ । कम्पनीसँग २०७८ जेठ ३ गते पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोड रुपैया ठेक्का सम्झौता भएको थियो । यस्तै सडक वाहेक पोखराको सेती नदिमा पुल निर्माणका लागि छुट्टै ठेक्का लागेको छ ।

२/२ लेनका दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएकोमा अहिलेसम्म सन्ताषजनक काम हुन सकेको छैन । जामुने–पोखरा खण्डमा सडक विस्तारको काम हालसम्म जम्मा ८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

  • २५ असार २०८०, सोमबार १८:२४ प्रकाशित