पोखर ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा १८ औँ रोपाई महोत्सव भएको छ । पर्यटकलाई लक्षित गदै आयोजना गरिएको रोपाई महोत्वसमा पर्यटक र स्थानीयहरु दिल खोलेर रमाए ।
स्थानीय महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ रोपनी खेतमा परम्परागत रुपमा रोपाइँ महोत्सव भएको थियो । खेत जोत्न र सम्याउन ५ हल गोरु र बाउसेको व्यवस्था गरिएको थियो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा बोल्दै आचार्यले पोखरा जेठेबुडो र पहेले धानको उर्वर भुमी रहेको र यसलाई पोखराको विशेष ब्राण्डको रुपमा स्थापीत गरिने बताए ।
परम्परागत तरिकाले कसरी खेत रोपाई गरिन्छ भन्ने नयाँ पुस्तालाई जानकारी दिने र वर्षातको समयमा समेत पर्यटकलाई भुलाउन महोत्सवले सकारात्मक सन्देस दिने प्रमुख आचार्यले बताए ।
पोखरा १३ स्थित काहुँखोला कसेरीको फाँटमा आयोजित महोत्वसवमा छिमेकी मुलुक भारत, चीन, अमेरिका लगायतका १५ भन्दा बढी देशका पर्यटक सहभागी हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।
पोखरामा अफ सिजन हुँदैन, पर्यटकका लागि सधैं सिजन हुन्छ भन्ने सन्देश दिन रोपाइँ महोत्सव हरेक वर्ष आयोजना गर्ने गरिएको छ ।
महोत्सवमा हिलो खेल्ने, माछा समाउने, हिले दौड गर्ने, दही चिउरा खाने, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा घैँटो फुटाउने लगायत कार्यक्रम भएका छन् । त्यसैमा पर्यटक रमाए । यसपालिको महोत्सवमा गायक प्रकाश सपूतको प्रस्तुति रहेको थियो ।
१८ औं रोपाइँ महोत्सवका संयोजक कृष्ण भण्डारीले रोपाइँ महोत्सव पोखराको पर्यटकीय महोत्सव बनेको बताए ।