ललिता निवास प्रकरण : गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तीन आरोपित सर्वोच्च गए

केन्द्रभाग मिडिया

Photo : onlinekhabar

काठमाडौं ।

ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् ।

राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरिन्छ । उनीहरु तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा हुनुपर्ने माग राखेका छन् ।

हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । उनीहरु तीनैजनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

ललिता निवास जग्गा अनियमिततामा मुछिएकाहरुमध्ये १७ जनाले १५ महिनाअघि नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर बसेका थिए । जसमध्येका ३ जना पक्राउ परेकै दिन गत मंगलबार रिहा भएका हुन् । त्यही बाटो समाउन अरु आरोपितहरु पनि बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।

सर्वोच्च अदालत गएकामध्ये भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङमाथि सरकारी कर्मचारीहरुलाई प्रलोभनमा पारी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोप छ ।

  • १४ असार २०८०, बिहीबार १५:१७ प्रकाशित