काठमाडौँ । काठमाडौं महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रने फुटपाथ व्यवसायीले घोषणा गरेका छन् ।
उद्योग व्यापार सहकार्य महासंघमा आबद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरूले काठमाडौँ महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका व्यवसायीहरुले बताएका छन् ।
काठमाडौँ महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा सबैभन्दा झुटो मेयर भएको उनीहरूको आरोप छ । बालेन गरिबहरूको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामान्तवादीहरुको पक्ष पोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ ।
आफूहरूसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरूले माग गरेका छन् । आफूहरूमा माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरूको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरूलाई मात्र पीडा दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलको कार्यालयमा छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरूको सम्बन्धित संघ–संस्थाहरूमा अन्तरक्रिया कार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ । राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीले बालेनले फुटपाथ व्यवसायीलाई दुःख दिने र वर्षौँदेखि नागरिक बस्दै आएको घरहरू भत्काउने काम भन्दा केही नगरको आरोप लगाए ।
महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अब आफूहरू महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रिनेसमेत उनले घोषणा गरे ।













