पोखराको फेवातालमा चिनियाँ ड्रागन बोट रेस फेस्टिभल सुरु

केन्द्रभाग मिडिया

फोटो:सुर्दशन रन्जित

पोखरा ।

पोखराको फेवातालमा आजदेखि नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल सुरु भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल सुरु भएको हो । फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको बताए ।

असार ८ र ९ गते हुने प्रतियोगितामा चीनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्नेछन् ।

५ सय र दुई सय मिटरको दुरीमा डुंगा दौड हुनेछ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म यो दौड प्रतियोगिता सञ्चालन हुनेछ ।

दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने छ । फेस्टिभलका लागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

  • ८ असार २०८०, शुक्रबार १५:५५ प्रकाशित