अब विपन्न नागरिकलाइ निःशुल्क उपचार : स्वास्थ्यमन्त्री बस्नेत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कमजोर आर्थिक अवस्था तथा न्युन आय हुने नागरिकलाई निशुल्क उपचारको व्यस्वस्था गर्ने बताएका छन् । सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको जानकारी दिदैं मन्त्री बस्नेतले सो बताएका हुन्।

मन्त्री बस्नेतले संविधानले स्वास्थ्य शिक्षाको विषय निःशुल्क भने पनि व्यवहारमा निःशुल्क हुन नसकिरहेको अवस्थामा मन्त्रालयले गरिब तथा बेवारिसे अवस्थामा पुगेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेका हुन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य सामग्रीमा अझै करको मात्रा बढाएर ५ वर्षमा सबै नेपालीको निःशुल्क उपचारको व्यवस्था गर्न सकिनेबारे गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले गरिब, बेवारिसे नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न थालेको बताउँदै सरकारी र प्राइभेट अस्पतालले १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने कुरालाई कार्यान्वयनमा लगेको पनि जानकारी दिएका छन् ।

२२ जिल्लाका मानिसले विपन्नताको परिचय पत्र पाएको उल्लेख गर्दै अन्य जिल्लाको हकमा स्थानीय तहको वडा कार्यालयले गरिब हो भन्ने सिफारिस पत्रका आधारमा १० प्रतिशतको निःशुल्क उपचार गर्न सरकारी तथा प्राइभेट अस्पताललाई निर्देशन दिएको बताए ।

  • ३१ जेष्ठ २०८०, बुधबार १४:२९ प्रकाशित