सरकारले लगायो असार १ देखि सडक खन्न प्रतिबन्ध, खने कारबाही

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले असार १ देखि सडक खन्न प्रतिबन्ध लगाएको छ ।

वर्षायाम सुरु हुने भएकाले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न सरकारले प्रतिबन्ध लगाएको हो । सो अवधिमा सडक खनेमा सरकारले कारबाही गर्ने भएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो ।

जारी सुचना अनुसार आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन । असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सुचनामा भनिएको छ ।

कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।

  • २५ जेष्ठ २०८०, बिहीबार ०९:१६ प्रकाशित