आर्मीलाई पछि पादैँ अन्नपूर्ण म्याराथनको उपाधी जुम्लाका धीरबहादुरले जिते

केन्द्रभाग मिडिया

पोखरा ।
अन्नपूर्ण म्याराथनको तेस्रो संस्करणको उपाधी जुम्लाका धीरबहादुर बुढाले जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको दौडमा ५६ प्रतिष्प्रर्धीलाई पछि पादै बुढाले म्याराथुनको उपाधि जितेका हुन् । उनले निर्धारीत दुरी (४२.१९५ किमी) ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पूरा गर्दै उपाधी जितेका हुन् ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समिति र होटल संघ घान्द्रुकले अन्नपूर्ण आधार शिविरबाट आयोजना गरेको म्याराथनमा नेपाल आर्मीका दुइ धावक क्रमस दोस्रो र तेस्रो भए । बुढालाई पच्छाउदै होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट १९ सेकेण्डमा दौड पुरा गदै दोस्रो भए । आर्मीकै बेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।

महिला तर्फ गंगा भण्डारी प्रथम भइन् । उनले ५ घण्टा ४३ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरिन । दोस्रो भएकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दौड पूरा गरिन् भने तेस्रो भएकी छोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा पूरा गरिन् ।
महिला तर्फ ११ र पुरुषमा ४५ जना धावक सहभागी थिए । दुवैतर्फ पहिलो हुने धावकले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन् ।

सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । हर्जोगको टोलीले आठ हजार मिटर अग्लो हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइने गरिन्छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले म्याराथनमा उपाधि जितेकाहरुलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै पाण्डेले हिमालय क्षेत्रमा हुने यस्ता कार्यक्रमले पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताए ।

  • २० जेष्ठ २०८०, शनिबार १७:०५ प्रकाशित