काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति एक्लैले गरेको भन्दै अब त्यस्ता निर्णयमा सहेर नबस्ने बताएका हुन् । उनले कांग्रेसको यस्तै निर्णयले भोट पाए पनि विश्वास गुमाएको बताए ।
‘कांग्रेसलाई बदल्ने हो । कांग्रेसलाई नबदलीकन जस्ताको तस्तै राखेर विश्वास फर्किँदैन’, उनले कांग्रेस बदल्न नेता कार्यकर्ता बदलिनुपर्ने पनि बताए ।महामन्त्री थापाले भने, ‘ सभापति हो, बहुमत उहाँसँग छ भनेर सहेँ । नसहनुपर्ने कुरा सहेकाले अव म सहन्न ।’













