प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आजदेखि : यस्तो छ आजको कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण आजदेखि सुरु हुदैंछ । चार दिने भारत भ्रमणका क्रममा आज(बुधबार) दिल्ली जान लागेका प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

आजै दिल्ली गएपछि प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने छन् । बिहीबार बिहान मोदीसँग औपचारिक भेटवार्ता गर्ने तालिका छ ।

यस्तै प्रचण्डले नेपाली समूदायका केही कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने राति नेपाली दूतावासको कार्यक्रममा सहभागी हुनेछन् ।

नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागत र सम्मानमा रात्रिभोजको आयोजना गरेको छ । साँझ ७ बजेदेखि सुरु हुने रात्रिभोजमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । सो रात्रिभोजमा नेपाली समुदाय, कूटनीतिक क्षेत्र र मिडियाकर्मीलगायत सहभागी हुनेछन्  ।

प्रधानमन्त्री प्रचण्ड पटेल मार्गस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । प्रधानमन्त्रीसहित सरकारी ४४ जनाको टोलीलाई सोही होटमा बासको व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्रीको उच्च्स्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ ।

  • १७ जेष्ठ २०८०, बुधबार ०९:०२ प्रकाशित