१५ वर्ष कैद सजाय माफी पाउँदै जेलबाट छुटे रेशम

केन्द्रभाग मिडिया

काठमाडौं ।

 

कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् ।मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो । रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि नउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

२०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।

चौधरीले आफ्नो रिहाइ अकस्मात् र सुनियोजित नभएको बताएका छन् । उनले आफ्नो रिहाइलाई स्वाभाविक रूपमा लिए पनि यो निकै ढिला भएको टिप्पणी गरेका हुन् ।

  • १५ जेष्ठ २०८०, सोमबार ०९:०६ प्रकाशित