अदालतको स्वच्छतामा गम्भीर प्रश्न, प्रधानन्यायाधीशले निकास दिनुपर्छ: पूर्वन्यायाधीश फोरम

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारले अदालतको स्वच्छता माथि नै गम्भीर प्रश्न खडा गरेको पूर्वन्याधीश फोरमले आरोप लगाएको छ ।

संवैधानिक परिषद ऐन प्रथम संशोधन अध्यादेश विरुद्ध प्रधानन्यायाधीशलाई विपक्षी बनाई दायर भएको रिट निवेदनमा एघार महिना वित्दासमेत पहिलो सुनुवाई पनि नहुनुले सर्वोच्च अदालतको स्वच्छतामा नै गम्भीर प्रश्न खडा भएको फोरमले बताएको छ । यसले अदालतको विश्वसनीयता घटेको भन्दै फोरमले प्रधानन्यायाधीश स्वयम्ले यसको निकास दिनुपर्ने माग गरेको छ ।

आज फोरमका अध्यक्ष टोपबहादुर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन ।विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक प्रावधान भन्दा माथि रहेको प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गर्नुको सट्टा प्रधानन्यायाधीश विपक्षी बनाइएको मुद्धामा आफै न्यायकर्ता ह’ने गरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफै सामेल हुने अभिरुचि र प्रयासले सम्पूर्ण न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न् हुनुका साथै प्रधानन्यायाधीशको भूमिका माथि शंका र न्यायलयको स्वच्छ छविमाथि प्रश्न खडा भएको छ ।’

न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण विषयक अवधारणा पत्रमा न्यायालयको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिनु वान्छनीय र अनिवार्य हुने उल्लेख गरिएको छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार १५:३४ प्रकाशित