काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलहरी प्रकरणमा पुष्टि हुने कुनै आधार नभएको भन्दै संसद नै चल्न नदिने चेतावनी दिएका छन् । एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाउँदै ओलीले यस्तो चेतावनी दिएका हुन् ।
पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’
उनले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।माओवादीका सांसद लेखनाथ दाहालले ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएपछि एमालेले संसदमा अवरोध गरेको छ ।












