रेशम चौधरीको कैद माफी मिनाहा नगर्न निवेदन

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

रेशम चौधरीको कैद मिनाहाका लागि तयारी भइरहेको हल्ला चलिरहँदा उनको कैद मिनाहा नगर्न निवेदन परेको छ ।

टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा चौधरीको कैद मिनाहा नगर्न निवेदन दिएकी हुन् । राष्ट्रपतिको कार्यालयमा ‘१०१८’ दर्ता नम्बर लिएर निवेदन दर्ता गराएको बोहराले जानकारी दिएकी छिन् ।
राष्ट्रपतिको कार्यालयमा बुझाएको निवेदनमा बोहराले रेशम चौधरीको कैद माफी मिनाहा नगर्न आग्रह गरेकी छन् ।

‘रेशम चौधरीको आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ’ बोहराले राष्ट्रपतिको कार्यालयमा पेश गरेको निवेदनमा भनिएको छ, ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र मजस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस बाँकी कहीँ छैन ।’

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट इन्स्पेक्टर केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको थियो ।

उक्त प्रदर्शनको नेतृत्व गरेको अभियोग लगाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् ।

  • १२ जेष्ठ २०८०, शुक्रबार १५:२४ प्रकाशित