गण्डकी प्रदेशमा मन्त्रालय बढाइयोे, जनशक्ति र पूर्वाधार बढाइएन

केन्द्रभाग मिडिया

वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमन गर्ने क्रममा मुख्यमन्त्री पोखरेल । तस्बिर : धनबहादुर गुरुङ

पोखरा ।
गण्डकी प्रदेशमा कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार गठन भएसंगै ८ मन्त्रालयबाट बढाएर अहिले १२ वटा मन्त्रालय पु¥याइएको छ । तर, जनशक्ति र पूर्वाधार नबढाउँदा समस्या देखिएको छ ।

यस अघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा सुरुमा ७ वटा मन्त्रालय रहेकामा पछि युवा तथा खेलकुद मन्त्रालय थप गरेर ८ वटा बनाइएको थियो ।

अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ११ मन्त्रालय छन् । दसैं अगाडि बिना विभागीय मन्त्रीमा डोबाटे विश्वकर्मा नियुक्त भएका छन् । उनी मुख्यमन्त्री कार्यालयमै बहाली गरेका छन् । उनको मन्त्रालय र कार्यालयको अझै टुंगो छैन ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालय र जनशक्तिको अवस्था बुझ्न मन्त्रालयहरुको बिहीबार स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् ।

प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमन गरेका हुन् ।

साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ । नयाँ स्थापना भएका मन्त्रालयहरु भवनको अभावमा साँघुरो गरी सञ्चालनमा आएका छन् ।

सकेसम्म सरकारी भवनहरु नै खोज्ने नभए भाडामा भए पनि सञ्चालन गरी व्यवस्थापन गरिने मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयको भवनमा राखिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको भवनमा राखिएको छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार ०७:५६ प्रकाशित