एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने, बादल नेतृत्वमा मुल व्यवस्थापन समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर दोस्रो हप्ता चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । एमाले महाधिवेशन १० देखि १२ मंसिरसम्म हुँदै छ ।

एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ,सीता पौडेल,आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावलसहित सात वटै प्रदेशबाट एक एक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट समेत एक जना प्रतिनिधि रहने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि विधान महाधिवेशन समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमालेको १०औं महाधिवेशन बुटवलमा हुने बताएका थिए । तर, एमालेले संस्थागत निर्णय गरेको थिएन ।

चितवन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला हो । बादल माओवादीमा नै प्रभावशाली नेता हुँदा हुँदै एमाले आएका नेता हुन् । चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई एमाले भित्रै निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार २०:१० प्रकाशित