काठमाडौं ।
ललितपुरको सुलिमाटोलस्थित रत्नेश्वर मन्दिरबाट सन् १९८० को दशकमा हराएको काठको कलात्मक सालभञ्जिका टुँडाल मंगलबार औपचारिक रुपमा सरकारलाई हस्तान्तरण गरिएको छ ।
पाटन दरबार स्क्वायर भित्र रहेको रत्नेश्वरी मन्दिरको टुँडाल ४ दशक अगाडि चोरी भएको थियो । १३/१४ औं शताब्दीको काठको कलात्मक टुँडाल हराएपछि विभिन्न माध्यम हुँदै अष्ट्रेलिया पुगेको पाइएको पुरातत्व विभागले जनाएको छ ।
उक्त टुँडाल सन् २००० मा आर्ट ग्यालरी अफ न्यू साउथ वेल्समा भेटिएपछि टुँडालको उत्पत्ति स्थल नेपाल भएको भन्दै पुरातत्व विभागले पुष्टि गरेको थियो ।
नेपाल सरकारले फिर्ता ल्याउन पहल थालेको एक वर्षमा अष्ट्रेलियाको सिड्नीस्थित आर्ट ग्यालरी अफ न्यू साउथ वेल्सले नेपाललाई फिर्ता दिने निर्णय गरेको थियो ।
उक्त टुडाँल सोमबार आफ्नै खर्चमा आर्ट ग्यालरीले एसियन आर्ट शाखाकी सिनियर क्यूरेटर मेलनी इष्टबर्नलाई जिम्मा लगाएर पठाएको थियो । उक्त टुँडाल अष्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।














