पोखरा ।
पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रर्वद्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो ।
छनौट भएका सहभागीहरूलाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर भित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिमहरू आयोजना गरिएको बताए।
‘महानगरपालिका भित्र स्वरोजगार सृजना गर्ने, तालिमका विभिन्न अवसरहरू सृजना गर्ने, तालिम पश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, आवश्यक परेको खण्डमा स्टार्ट अपमा बिउ पुँजी पनि दिने लगायतका कार्यहरूमा हामीले सहयोग गर्छौँ, प्रमुख आचार्यले भने, तर, आफ्ना जीवनका लक्ष्यहरू प्राप्त गर्नका लागि लगनशीलता र धैर्यता पहिलो सर्त हुनुपर्दछ ।’
सानो लगानीबाट पनि व्यवसायीक सफलताको लामो यात्रा पुरा गर्न सकिने उल्लेख गर्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यवहारिक उपयोगमा जोड दिए ।
जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने भन्दै स्वरोजगार सहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको उनले बताए ।
‘सुरुमा बेस बनाउन मात्र जागिर खानु स्वाभाविक हुन सक्ला तर, जीवनभर जागिरले मात्र हुँदैन, आफूले सिकेको सिपको उपयोग गर्दै उद्यमी बन्ने सोच राख्नु पर्छ, उनले भने व्यवसाय गर्नका लागि ठुलो रकम चाहिन्छ भन्ने हुँदैन, तर व्यक्तिमा इमान्दारीता भने अवश्य चाहिन्छ, पारदर्शिता चाहिन्छ, धैर्यता चाहिन्छ ।’तालिमलाई केवल सर्टिफिकेटमा सीमित गर्न नहुनेमा उनले जोड दिए ।
दक्ष जनशक्ति उत्पादन गर्ने महानगरको उद्देश्यमा केन्द्रित तालिमले सम्बन्धित क्षेत्रका विषयविज्ञहरुद्धारा तालिम प्रदान गर्ने उनले बताए ।पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले तालिमले सहभागीहरूलाई व्यवसायीक जीवनको ठोस आकार दिन पर्याप्त अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गरे । सहभागीहरूलाई स्वरोजगार उद्यमी बन्न र व्यवसायीक जीवनमा थप सिपहरूको विकासका लागि तालिम उपयोगी हुने उनले बताए।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले व्यक्तिको जीवनमा ज्ञान, सिप र क्षमतामा आधारित कर्म आवश्यक हुने भन्दै सहभागीहरूले महानगरपालिकाको उद्देश्य अनुरूप तालिमलाई व्यवहारिक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महिला उद्यमी संघकी पार्वती रेग्मी पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया लगायतले महानगरपालिकाले स्वरोजगार सृजना र उद्यमशीलताको विकासका लागि यस प्रकारको तालिमहरू सञ्चालन गर्नु अनुकरणीय कार्य भएको धारणा राखे ।
पोखरा महानगर आर्थिक विकास समितिका संयोजक एवं पोखरा महानगरपालिका वडा नं.१४ का वडाध्यक्ष बोध बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवसाय प्रर्वद्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सञ्चालन गरेका थिए ।
तालिममा पञ्चेबाजा बजाउने, सिलाइ कटाई, ब्युटी पार्लर, मन्टेश्वरी, सुनचाँदी गहना निर्माण, भाषा तालिम, ए सी जडान, कुक, बारिस्ता, प्लम्बिङ लगायत रहेका छन् । विभिन्न संघ संस्थाहरूसँगको समन्वय तथा महानगरपालिकाको लगानीमा यी तालिमहरू सञ्चालन गर्न लागिएको हो ।
तालिमहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को नम्स र कतिपय गण्डकी बहुप्राविधिक शिक्षालयको समेत पाठ्यक्रममा आधारित १६० घण्टा देखी ३९० घण्टा सम्मका हुनेछन् ।














