काठमाडौँ ।
नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा ८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स, उज्वेकिस्तान, काजाकिस्तान र किर्गिस्तानले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल, भारत, बंगलादेश र किर्गिस्तान रहेका छन् । यसैगरी समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्वेकिस्तान परेका छन् ।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने बताइएको छ ।