टोपबहादुर पुर्पक्षका लागि थुनामा परे निलम्बन हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा परे उनी सांसद पदबाट निलम्बित हुनेछन् । प्रहरी पक्राउ गरेसँगै यतिबेला टोपबहादुरको पद के हुन्छ भन्ने आम सर्वसाधरणलाई चासो छ । आज उनलाई अदालत लगिदैछ ।

प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत रहनेछ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रहरी प्रधान कार्यालयले रायमाझी पक्राउ परेको सूचना संसद सचिवालयमा पठाउनुपर्नेछ । त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठकमा सूचना सुनाउनेछन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८९३० अनुसार सांसदहरु फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइए मात्र निलम्बनमा पर्नेछन् ।

उक्त नियममा भनिएको छ, ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

अर्थात, प्रहरी हिरासतमा रहदा रायमाझीको सांसद पद यथावत रहनेछ । यो मुद्दा अदालत पुगेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा उनी निलम्बनमा पर्नेछन् । अदालतले धरौटी वा साधारण तारेखमा छाडेमा उनलाई सांसदको हैसियतमा नियमित काम गर्न र सेवा सुविधा उपभोग गर्न बाधा पर्ने छैन ।

प्रतिनिधिसभा नियमावली २०७५ मा सांसदहरु हिरासतमा पर्नेबित्तिकै निलम्बन हुने व्यवस्था थियो ।तर ४ मंसिरको चुनावपछि नयाँ प्रतिनिधिसभा गठन भएपछि प्रतिनिधिसभा नियमावली २०७९ बनाउँदा पुरानो व्यवस्था परिवर्तन गरेर पुर्पक्षका लागि थुनामा गएपछि मात्रै सांसद पदबाट निलम्बन हुने व्यवस्था राखिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए ।

  • १ जेष्ठ २०८०, सोमबार १४:०१ प्रकाशित