जनकपुरधाम ।
सिरहाको नेपाल भारत सिमा क्षेत्रमा एक चेलाले आफुनो साधुको निधन पछि उनकै चितामा आत्मदाह गरेको घटना सार्वजनिक भएको छ ।
धनुषाको सबैला नगरपालिका –९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका हुन् । साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा हाम फालेर उनले आत्मदाह गरेको बताइएको छ । उनलाई मलामीहरूले बचाउने प्रयास गरे पनि असफल भएको हो ।
साधु दासको दाहसंस्कार भइरहेकै बेला चेला ५५ वर्षीय रामचन्द्र महतोले चितामै हामफालेर आत्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला हुन् । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए ।
सुखीपुर नगरपालिका-२ छजनास्थित हनुमान मन्दिरमा १२२ वर्षीय साधु विष्णु दासको सोमबार निधन भएको हो ।यस घटनाबारे भने नेपाल प्रहरी अनभिज्ञता जनाएको छ ।
निधन भएका साधुको दाहसंस्कार भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँमा गरिएकोले शिष्यले चितामै आत्मदाह गरेको घटनाको रेकर्ड नराखिएको सिरहा प्रहरीले बताएको छ ।














