ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न सर्वोच्चद्धारा अल्पकालीन अन्तरिम आदेश

केन्द्रभाग मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उनले दिएको रिटमा दुबै पक्षलाई बोलाएको छ।

दुबै पक्षको बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। यो आदेशसँगै श्रेष्ठको सांसद पद केही दिन कायम रहने भएको छ।

श्रेष्ठ अब संसद बैठकमा जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा लिखित आदेशमा आउने उनले बताए।

आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले रिट दिएका थिए। श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गरेका थिए।

मन्त्री हुन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

  • २५ बैशाख २०८०, सोमबार १६:१५ प्रकाशित