संखुवासभा ।
संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको ज्यान गएको छ ।भोटखोला गाउँपालिका–४ मा भएको हेलिकप्टर दुर्घटनामा यसअघि पाइलट र एक स्थानीय घाईते भएको बताइएकोमा पछिल्लो अपडेट अनुसार एकको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो ।
क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । त्यस्तै क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं लगिएको छ ।
हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएको थियो ।













