काठमाडौँ ।
वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।
अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । तर, अबदेखि एनओसीको प्रिन्ट पनि अनलाइनबाट आफैँले गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो ।एनओसी शाखा प्रमुख बासुदेब वस्तीका अनुसार ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।
सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वस्तीले बताए । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण समेत बैङ्क तथा वित्तीय संस्थाहरूबाट अटोमेटिक हुनेछ ।
यसका लागि शाखाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण गरेको छ । उनीहरूको माग अनुसार युजर म्यानुअल समेत तयार गरेको प्रमुख वस्तीले बताए ।
सोही आधारमा नेपाल राष्ट्र बैंकले समेत अनलाइन एनओसीको आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैङ्क तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट) सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेछ’, राष्ट्र बैंकले गरेको परिपत्रमा भनिएको छ ।
अहिले सरोकारवाला निकायहरूका सफ्टवेयर शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ ।
‘हामी तयारी गर्दैछौं । ढिलोमा अर्को हप्ताबाट सुरु हुन्छ । यो अन्त्यतै जटिल विषय हो । हाम्रो सरोकारवाला निकायको पनि सफ्टवेयर हुनुपर्यो । १३ वटा विश्वविद्यालय छन् । ती सबैको सफ्टवेयर छैनन् । तिनीहरू अनलाइन प्रणालीमा नगई उनीहरूका डकुमेन्ट भेरिफाई गर्न सक्दैनौँ, उनले भने ।
त्यस्तै एनओसी जारी गर्नका लागि २५ भन्दा बढी सरोकारवाला निकायहरू छन् । जसमा राहदानी विभाग, विश्वविद्यालयहरू, इमिग्रेसन लगायतका सरोकारवाला निकाय रहेका छन् ।