कैलाली ।
दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेका सात जनाको हिजै उद्धार भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । पाँचजनालाई अझै फेला पार्न सकिएको छैन । यार्सागुम्बा टिप्न गएकाहरू हिम पहिरोमा परी बेपत्ता भएका थिए ।
१२ जना बेपत्ता भएकामध्ये ७ जना सम्पर्कमा आएको र बाँकी पाँचजनाको खोजी भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिएका छन्।
उनका अनुसार १२ जना सँगै रहेको ठाउँमा मंगलबार दिउँसो करिब २स्४५ बजे हिम पहिरो आएको थियो । मौसममा सुधार नआउँदा अहिले खोजी कार्य रोकिएको छ ।
अहिले पनि हिमपात जारी छ । घटनास्थलमा प्रहरी पनि जान सक्ने अवस्था छैन । करिब ५ फिट हिउँ जमेको छ, मौसममा सुधार आएलगत्तै खोजी र उद्धारलाई तीव्रता दिने उनले बताएका छन् ।
बेपत्ताहरूमध्ये ३ जना महिला डोटीको बुडरका रहेका र एक पुरुष दार्चुलाकै दुँहु गाउँपालिका पोक्सीका भएको खुलेको छ । उनीहरूको पूर्ण परिचय भने खुल्न बाँकी छ ।














