काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा विश्वमा कहीँ नभएको र कसैले गर्न नसकेको काम एमाले नेतृत्वको सरकारले गरेको बताएका छन् ।
उनले आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय रेकर्ड कायम राख्ने असंख्य काम भएको दाबी गरे । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बुधबार एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘गिनिज बुकमा रेकर्ड राख्ने काम त कति भए कति’ उनले भने, ‘रेकर्ड नराखेर मात्रै हो नत्र आधा गिनिज बुक त हाम्रै कामले भरिन्छ।’
उनले आफ्नो सरकारले २१० वटा बाटो, ३९६ अस्पताल एकै दिन शिलान्यास गरेर बनाउन सुरु गरेको बताए । तर, १४ सय बाटा एकैचोटी बनाउने योजना भएपनि अहिलेको सरकारले योजना काटेको बताए ।
उनले एमालेबाहेक अरु कसैले पनि देश बनाउन नसक्ने दाबी गरे । ‘जसले पनि गर्ने भए एमाले किन चाहिन्थ्यो’ उनले भने, ‘सबैले गर्न नसक्ने भएर नै एमाले चाहिएको हो।’
ओलीले दुई/दुई चोटी मिर्गौला फेरेको प्रधानमन्त्री नेपालमा मात्र पाइने र त्यो पनि विश्व रेकर्ड नै भएको बताए ।