विकासशील मुलुकमा फड्को मार्न गुणात्मक सुधार जरुरी छ : प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो देशलाई विकास मुलुक बनाउनका लागि गुणात्मक सुधार जरुरी रहेको बताएका छन् ।

विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि विकासशील मुलुकमा फड्को मार्नका लागि अझै हाम्रा निति र कार्यान्वयनका पक्षमा सुधार आवश्यक भएको दाहालले बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘सन् २०२६ सम्म विकासशील मुलुकमा फड्को मार्न र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न हाम्रो नीति र कार्यान्वयन दुवै पक्षमा गुणात्मक सुधार जरुरी छ ।’

‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई आज सम्बोधन गर्दै उनले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताए ।

‘आन्तरिक उत्पादन न्यून भएकाले ठूलो मात्रामा वस्तु आयातका कारण व्यापारघाटा चुनौतीकै रूपमा रहेको छ । अर्कोतर्फ मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवा पलायन बढ्दो छ’, प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्न नसकेको र महत्वपूर्ण आयोजनाको कार्यान्वयन सुस्त रहेका बारे हालै मेरो अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसी पहिचान गरिएका समस्याको उचित समाधानका लागि महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।

  • १३ बैशाख २०८०, बुधबार १५:४७ प्रकाशित