काठमाडौं ।
नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युएईको दुबईमा सुरु भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
मंगलबार अल नासेर क्लबको शेख रसिद बिन हमदान इन्डोर हलमा भएको पुरुष एकलतर्फको क्वालिफाइङमा आफ्नो समूहको दुवै खेल जित्दै प्रिन्सले अन्तिम ३२ मा स्थान पक्का गरेका हुन् ।
क्वालिफाइङको समूह बीमा रहेको प्रिन्सले पहिलो खेलमा साउदी अरेबियाका नवाफ अलघम्दीलाई सोझो सेटमा हराए । प्रिन्सले नवाफलाई २१-६, २१-८ ले हराए ।
समूहको दोस्रो खेलमा प्रिन्सले मंगोलियाका बत्डाभा मुन्खाबातलाई २१-६, २१-८ ले सहजै हराए । प्रिन्सले अब अन्तिम ३२ मा जापानी खेलाडी कान्ता सुनेयामासँग खेल्नेछन् ।