फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको छ। सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गरेको भन्दै प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो ।

कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको प्राधिकरणको भनाइ छ । यस्तो गलत सूचना सम्प्रेषण गर्ने फ्लाइ दुबईका कर्मचारीलाई तत्कालका लागि विमानस्थल छिर्न नदिनेगरी पास रोक्का गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। यद्यपि, उनीहरूको पास कति समयसम्म रोक्का रहन्छ, सो भने प्राधिकरणले बताएको छैन ।

सोमबार राति ९ः २० बजेट १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाइ दुबईको कलसाइन एफजेड–५७६ विमानमा उडान लगत्तै आगोको मुस्लोसहित अस्वाभाविक आवाज निस्किएको थियो ।

यसलगत्तै केहीबेर नेपाली आकाशमा नै जहाज होल्ड गरेर स्थिति सामान्य भएपछि विमान दुबई नै प्रस्थान गरेको थियो । फ्लाइ दुबईले जहाज उडानका क्रममा चरा ठोकिएर समस्या आएको बताए पनि यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सो पुष्टि हुने कुनै आधार नभेटिएको जनाएको छ ।

  • १२ बैशाख २०८०, मंगलवार १५:२३ प्रकाशित