तनहुँ १ मा भारी मतान्तरसहित रास्वपाका स्वर्णिम वाग्ले विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । वाग्लेका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ मत प्राप्त गर्दा भट्टराईले २० हजार १२२ मत ल्याए ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका छन् । ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी भएका थिए । पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचन भएको हो ।

यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।

यस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् ।

  • १२ बैशाख २०८०, मंगलवार ०६:४४ प्रकाशित