निर्वाचन आयोगले सोध्यो रवि लामिछानेलाई स्पष्टीकरण

केन्द्रभाग मिडिया

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

हिजो (आइतबार) भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा चितवन क्षेत्र नं २ का उम्मेदवार समते रहेका लामिछानेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतबारै जवाफ आएको बताए । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।

निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो ।

  • ११ बैशाख २०८०, सोमबार १४:०३ प्रकाशित