पोखरा ।
गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले परिवर्तनको रक्षाका लागि एमाले सरकारबाट आफूहरु बाहिरिएको बताएका छन् ।
प्रदेशसभा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री अधिकारीले सहकार्यको लागि गरेको प्रस्तावको जवाफ दिँदै उनले परिवर्तनकाको रक्षाका लागि सरकारलाई समर्थन दिन नसकिने धारणा राखे ।
मन्त्रिपरिषद्को सदस्यले नै संघीयता, गणतन्त्र र समावेशितासहित परिवर्तनको विरुद्ध बोल्दा समेत टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यतामा मुख्यमन्त्री रहेको उनले टिप्पणी गरे । यस अघि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता समेत रहेका समाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चारम गुरुङले प्रदेश खारेजीको प्रस्ताव राखेको तर्फ इंकित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले आफूहरुपनि अस्थिरताको पक्षमा नरहेको तर जनयुद्ध दिवशलाई एमाले अध्यक्ष केपी ओलीले हिंसा दिवश भनेको भन्दै यस्तो प्रबृत्तिले संघीयतासहित परिवर्तनको रक्षा हुन नसक्ने बताए । केन्द्र र प्रदेश सरकारमा सहकार्य गर्न यसैका कारण असमर्थ रहेको भन्दै उनले मुख्यमन्त्री अधिकारीलाई मत दिन नसक्ने प्रस्ट्याएका छन् ।













