गण्डकी प्रदेशका मन्त्रीले नै राखे प्रदेश खारेजीको प्रस्ताव

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका एक मन्त्रीले नै प्रदेश सरकार खारेजीको माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता समेत रहेका समाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चारम गुरुङले यस्तो माग गरेका हुन् । उनले प्रदेश सरकारको खासै भूमिका र महत्व नरहेको कुरा आफूले मन्त्री भएर नै महसुस गरेको उनको भनाई छ । उनले प्रदेश सरकार केन्द्र सरकारको कठपुतली सरकार रहेको समेत आरोप लगाए ।

उनले प्रदेशको मन्त्री भएर आफूले प्रदेशका लागि राम्रो गर्न सहयोग गरेको भने जिकिर गरे । ‘इमान्दार भएर काम गर्छु भनेको हुँ । तर कुर्चीमा बसेर नियाल्ने अवसर पाउँदा साच्चै नै प्रदेश सरकार केन्द्र सरकारको कठपुतली सरकार रहेछ । केन्द्रमा सरकार बदलिँदा त्यसको असर यता पर्नु हुनेथिएन । यो प्रदेश सरकार सबै मिलेर खारेज गरौं । प्रदेश सरकारमा गरिएको खर्चै शिक्षा, स्वास्थ्य र कलकारखाना तर्फ लगाउने हो भने गन्तब्यमा पुगिन्छ । सिमित मान्छेले खाने र व्यवस्थित गर्ने कार्यले भोलिको पुस्ताले धिकार्छ’ उनले भने ।

मन्त्री गुरुङले केही समय काम गर्न दिएर अधिकारी नेतृत्वको सरकारको परीक्षण गर्न आग्रह गरे । उनले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले केही नराम्रो काम नगरेको र सरकार ढाल्नुपर्ने कुनै कारण नरहेको नभएको जिकिर गरे ।

 

  • ९ बैशाख २०८०, शनिबार १६:३४ प्रकाशित