पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्री निर्वाचित भएदेखिको प्रदेश सरकारको उपलब्धि सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी प्रदेशसरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका अधिकारीले भोलि विश्वासको मत लिने बताइरहँदा आज पत्रकार सम्मेलन आह्वान गरि १८ बुदे उपलब्धि सार्वजनिक गरेका हुन् ।
अधिकारीले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुदाँमा वर्तमान सरकारले मन्त्रालयको संख्या १२ बाट घटाई ७ कायम गरेको उल्लेख गरिएको छ ।
प्रदेशको आन्तरिक आम्दानी र राष्ट्रिय आर्थिक अवस्था र प्रदेशलाई चुस्त बनाउन मन्त्रालयको संख्या घटाएको र प्रदेश संरचनालाई गतिशिल बनाउन संगठन तथा व्यवस्थापन सर्भेक्षणका कार्यको थालनी गरिएको बताइएको छ ।
त्यस्तै झण्डै साढे तीन महिनाको अवधिमा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत मृगौला रोगीका लागि निशुल्क डायलासिस सेवा विस्तारको चरणमा रहेको सार्वजनिक उपलब्धिमा समेटिएको छ । यसबाट ३०० बढी विरामीले निशुल्क सेवा पाउनको लागि गरेको प्रतिक्षा सम्बोधन हुने अवस्थामा रहेको बताइएको छ।
संघीय निजामती सेवा ऐन जारी नभएको बेला गण्डकी सरकारले प्रदेश निजामती सेवा ऐन,स्थानीय सेवा ऐन र गण्डकी प्रदेश निजामती सेवा नियमावली २०७९ जारी गरेको उल्लेख गरिएको छ ।
बाँझिएका ३४ वटा कानुनहरुलाई संशोधन गरिएको जनाइएको छ । पर्यटन क्षेत्र विकासको लागि प्रदेश सरकारले होमस्टे प्रर्वद्धन अनुदान कार्यक्रम सञ्चालन गरेको र साहसिक पर्यटन, प्याराग्लाइडिङ, बन्जीजम्प, क्यानोनिङ, कृषि पर्यटन लगायतका पर्यटन विकासमा सरकारले जोड दिएको जनाइएको छ ।
उद्योगक्षेत्रमा स्वदेशी तथा वैदेशिक लगानीको वातावरण तयार गर्न प्रदेश सरकारले पहल कदमी चालेको बताइएको छ ।प्रदेश सरकारले स्थापना गरेको व्यवसाय जीवनरक्षा कोषमार्फत व्यवसायीहरुको कर्जामा ब्याज सहुलियतको लागि १३ करोड निकासा गरिएको उल्लेख गरिएको छ।
कृषिमा आकर्षित गर्न कृषि र पशु विमालाई निशुल्क बनाइएको बताइएको छ । भने जग्गा चक्लाबन्दी, मुख्यमन्त्री जलवायुमैत्री कृषि कार्यक्रम, बीउ र मलमा अनुदान जस्ता कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरेको उलब्धिमा समेटिएको छ ।
प्रदेश सरकारले उज्यालो प्रदेश कार्यक्रमलाई साकार पार्न विद्युतीय चुल्हो वितरणमा अनुदान कार्यक्रम,साना तथा ठुला जलविद्युत आयोजना निर्माण, वायो ग्याँस तथा सौर्य उर्जा कार्यक्रममार्फत विद्युत उत्पादनमा वृद्धि गरि नागरिकको घरदैलो उज्यालो बनाउने अभियानलाई जोड दिएको जनाईएको छ ।
हालसम्म सडक तथा पूर्वाधार क्षेत्रमा २४१ योजनाहरुको ठेक्का सम्झौता गरेको र ५१.८ कि.मि सडक कालोपत्रे गरेको उपलब्धिमा उल्लेख छ । साथै प्रदेश भित्र ३ वटा सडक पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताइएको छ।
यस्तै प्रदेश सरकार दुई छिमेकी राष्ट्रलाई जोड्ने कोरला त्रिवेणी सडक विस्तारमा लागेको जनाएको छ । साथै लामो समयदेखि अलपत्र दुम्किबास गजेन्द्रमोक्ष सडक खण्ड ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि डिपिआर निर्माणको थालनी भएको बताइएको छ।
एक घर एक धारा मार्फत स्वच्छ खानेपानी पुर्याउने अभियानलाई तिव्रता दिएको बताइएको छ । यस्तै एक स्थानीय तह, एक खेल मैदान कार्यक्रम अन्तर्गत १५ वटा खेलमैदान निर्माणका लागि सम्झौता भएको जनाइएको छ।
यस्तै खेलाडीलाई हौसला प्रदान गर्न प्रदेशका ४ राष्ट्रिय खेलाडीलाई जनही ५० हजार नगद र प्रशंसापत्रसहित पुरस्कृत गरिएको उपलब्धिमा समावेश गरिएको छ ।
गण्डकी प्रदेश सरकारद्धारा सार्वजनिक १०० दिने उपलब्धि हेर्न यहाँ क्लिक गर्नुहोस ।













