वडाध्यक्षहरूलाई हर्क साम्पाङले दिए राजीनामाको चेतावनी

केन्द्रभाग मिडिया

विराटनगर ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले केही वडाध्यक्षहरुलाई राजीनामा दिन चेतावनी दिएका छन् । साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका हुन् ।

शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् ।

बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

उनले धरानका वडाहरूमा भएका कामको विवरण पनि सार्वजनिक गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएका छन् । विज्ञप्ति जारी गर्दै वडामा भएको प्रगति र कामका बारेमा आफूलाई समेत थाहा नभएकाले यसको जानकारी दिन भनेका हुन् ।

 

  • ७ बैशाख २०८०, बिहीबार १६:२८ प्रकाशित