त्रिभुवन विमानस्थलमा भोलि ६ घण्टा उडान र अवतरण रोकिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि विमानस्थलमा सेवा अवरुद्ध हुने भएको हो । विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गरिने भएकाले सेवा अवरुद्ध हुने महाप्रबन्धक तिवारीले सूचना जारी गरेर जनाएका छन् ।

उक्त समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

  • ६ बैशाख २०८०, बुधबार १५:२५ प्रकाशित