काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले आफ्नो कार्यकालमा भूमिहीनहरूलाई लालपुर्जा दिने आश्वासन दिएकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा संसद्मा उठेका सवालहरूको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देशभर लाखौँ जनता भूमिविहीन र गरिबीबाट ग्रस्त रहेको स्मरण गरिन् ।
‘जमिन खनजोत गर्नेहरूको हो, त्यसैले हलिया, कमैया, हरवाचरवा, मुसहर, डोम, चेपाङ आदि भूमिहीनहरूले जमीनको लालपुर्जा पाउनैपर्छ । हजारौँ वर्ष हजारौँ मिटर जमीन जोत्नेहरूसँगै पाँच अम्मल जमीन पनि छैन,’ उनले भनिन्, ‘त्यसैले भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य छ ।’
उनले विगत लामो समयदेखि भुमिहीन र सुकुम्बासीको समस्या समाधान हुन नसकेको भन्दै छिटोभन्दा छिटो सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले राष्ट्रिय भूमि आयोगले १०९० वटा पुर्जा बनाएको र ५०० भन्दा धेरै पुर्जा वितरण गरेको जानकारी गराइन् ।













