बेनी ।
बेनी जोमसोम सडक हिजो (सोमबार)देखि दैनिक छ घण्टा बन्द हुन थालेको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकमा पहिरो रोकथामका लागि सडक विस्तारका काम हुन लागेकाले यातायात सेवा बन्द हुन थालेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समय तालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माण गरिने जानकारी दिए ।
यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो । पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ ।














