सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने भएका छन् ।
यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गर्दथे। सरकारले फागुन १८ गते निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी) मा कडाइ गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयसमेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो। पहिलो पटक ल्याइएको यस्तो निर्देशिका गत चैत १९ गतेदेखि लागु भइसकेको छ।
निर्देशिकाअनुसार विदेशमा उच्च शिक्षा पढ्ने प्रयोजनका मात्रै विद्यार्थीले अनुमति पाउनेछन्।स्नातक र त्यसभन्दा माथिल्लो तह पढ्न विदेश जाने हो भने मात्र एनओसी लेटर दिन मिल्ने गरी निर्देशिका बनेको शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्री जानकारी दिएका छन् ।
सहसचिव काप्रीकाअनुसार विदेशमा डिप्लोमा वा कुनै भाषा कोर्स गर्नका लागि मात्रै अबदेखि विद्यार्थी जान पाउँदैनन्। तर उच्च शिक्षा (स्नातक र त्यसमाथि) पढ्न जाने हो भने भाषा पढ्नका लागि पनि विद्यार्थी विदेश जान पाउँछन्।
एनओसी लिन विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइनबाट सेवा दिन लागिएको पनि उनले बताए।भाषा कोर्स र तालिम तथा डिप्लोमा पढ्न विदेश जान नदिने गरी सरकारले निर्देशिका ल्याएपछि कन्सल्टेन्सीहरूले भने असन्तुष्टि जनाएका छन्।















