व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योगी/व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्न हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर पनि गरेका छन् ।

पोखरा महानगरपालिकाले न्यूरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरुको यो भनाइ बाहिर आएको हो । पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखराको ट्राफिक व्यवस्थापनबारे आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले ट्राफिक प्रहरीको व्यवहार,सडक सुरक्षा एवं पार्किङ व्यवस्थापनबारे विभिन्न धारणाहरु राखेका थिए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यातायात क्षेत्र व्यवस्थित हुनु्पर्नेमा दुईमत नभए पनि नागरिकलाई अप्ठेरो पार्ने काम हुन नहुनेमा जोड दिए । उनले यातायात व्यवस्था कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राख्दै व्यवहारिक निर्णय गर्नुपर्ने बताए ।

यातायात व्यवस्था कार्यालय कास्की ( सवारी) का प्रमुख डिल्लीराम रिज्यालले आफ्नो कार्यालयले १५ मिनेटभित्र सेवाग्राहीलाई सेवा दिने गरेको जिकिर गरे । नागरिकहरुले यातायात कार्यालयलाई घुस दिने थलोको रुपमा बुझ्ने गरेको स्वीकार्दै उनले भने,‘कतिपय अवस्थामा विचौलियाको कारणले र बाँकी हल्लाको कारणले त्यस्तो मानसिकताको विकास भएको हो तर यातायात व्यवस्था कार्यालयले आफूलाई सुधार गरिसकेको छ ।’ उनले नियम मिच्ने अधिकार कसैलाई पनि नभएको तर पोखरामा दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनलाई सहज हुने गरी छत र ढोका राख्न दिएको जानकारी गराए । यसअघि व्यवसायीहरुले सामान ढुवानी गर्ने गाडीहरुको स्वरुप परिवर्तन गर्न पाउनुुपर्ने र त्यस्तोमा ट्राफिक प्रहरीले जरिवाना लिन नहुने माग गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले पोखरामा पार्किङको समस्या चुनौतीपूर्ण हुँदै गएको,ट्राफिक लाइट राखेर पनि चलाउन हम्मे परेको बताउँदै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनको लागि आफू क्रियाशिल रहेको बताए ।
सोही कार्यालयका वरिष्ठ सइ तथा प्रवक्ता शिवप्रसाद पाठकले पोखराका सवारी चालकहरुमा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति डरलाग्दो भएको बताए । उनले पछिल्लो समय न्यूरोडमा सवारी दुर्घटना बढेको स्वीकार्दै डिभाइडर राखेपछि न्यूनीकरण हुने जिकिर गरे ।
पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष देवेन्द्र केसीको धन्यवाद र महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बोल्दै व्यवसायी मनोहर श्रेष्ठले पोखराको न्यूरोडमा पार्किङ गर्न पाउनुपर्ने माग जोडतोडले उठाए । उनले नगर बसहरुले सडककै बीचमा मान्छे झार्ने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाइ थियो ।

अर्का व्यवसायी सिरोज कोइरालाले सहरमा मान्छेको आवागमन रोक्ने गरी नीति नियम बनाउन नहुने बताए । उनले संसारका ठूला सहरहरुमा पनि सडकको निश्चित भागमा पार्किङ हुने गरेको बताउँदै न्यूरोडबाट पार्किङ हटाउन नहुने जिकिर गरे ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले ट्राफिक प्रहरीले विभिन्न ठाउँमा भन्सारकै शैली चेकजाँच गर्ने र रकम बुझाउनेहरुलाई उन्मुक्ति दिने गरेको आरोप लगाए । अर्का कार्यसमिति सदस्य दीलिप श्रेष्ठले सामान ढुवानी गर्ने साधनहरुमा छत,ढोका राख्न पाउनुपर्ने र यसअघि भएका निर्णयहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

यस्तै कार्यसमिति सदस्य कृष्णप्रसाद कोइराला,राम कँडेल,सु्दीप ओझा, टीकाराम सुवेदी, युवकबहादुर बस्नेतलगायतले लेकसाइड क्षेत्रमा गरिने सवारी चेकजाँचले व्यवसायीहरुलाई त्रसित बनाइएको, फर्निचरका सामानहरु ढुवानी गर्दा ट्राफिकले दुःख दिने गरेको,यातायात कार्यालयमा ढिलो काम हुने गरेकोलगायतका गुनासाहरु राखेका थिए ।

  • १९ चैत्र २०७९, आईतवार २१:५४ प्रकाशित